वीरगञ्ज, फागुन ७ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चिचतकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना निकालेर साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।
गत बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर सोमबार वीरगञ्जमा पनि हिन्दु समाजले विरोध जुलुस निकालेका थिए । त्यसक्रममा दुई पक्षबीच विवाद र झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।
'सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जाने स्थिति देखिएकोले कर्फ्यू लगाइएको छ,' प्रमुख जिल्ला अधिकारी भुसालले भनेका छन् ।
पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।