बारा । अखिल नेपाल किसान महासङ्घ बाराको आयोजना र परवानीपुर गाउँपालिकाको सहयोगमा असार १५ अर्थात् राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइएको छ ।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री पटेल, उपाध्यक्ष सुगान्धी देवीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले किसानहरूसँग खेतमा पुगेर धान रोपेर दिवसको महत्त्व अझ प्रस्ट पारेका थिए ।
धान दिवसका दिन खेतमा गुन्जिने असारे भाकाले रमाइलो वातावरण सिर्जना गरेको थियो भने कार्यक्रमले खेतीपातीको महत्त्व र किसानप्रतिको सम्मान प्रकट गरेको आयोजकले जनाएका छन् ।
कृषिप्रधान देश नेपालमा असार १५ लाई खेतीपातीमा विशेष महत्वसहित मनाउने गरिन्छ । किसानहरू खेतमा धान रोप्दै, असारे भाका गाउँदै, हिलोमा खेल्दै तथा दही–चिउरा खाँदै राष्ट्रिय धान दिवस मनाउँछन् ।
विक्रम संवत् २०६२ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको यस दिवसमा केवल किसान मात्र होइन, अन्य व्यवसायमा संलग्न नागरिकले पनि दही–चिउरा खाएर सहभागिता जनाउने गर्छन् ।
यद्यपि, यस वर्ष असारको मध्यसम्म पर्याप्त वर्षा नभएको र कतिपय ठाउँमा मल अभाव भएको गुनासो किसानहरूले गरेका छन् । तर, कृषि मन्त्रालयले भने मलको पर्याप्त मौज्दात रहेको जनाएको छ ।