वीरगञ्ज - समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा आज मानव सेवा आश्रम, वीरगञ्जलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
आश्रममा बसोबास गरिरहेका असहाय, विपन्न, वृद्ध तथा बेघर व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै क्लबहरूले चामल, दाल, नुन, तेल, पिठो, तरकारी लगायतका अत्यावश्यक खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले लायन्स क्लब सधैं समाजसेवा र मानवीय सहयोगमा समर्पित रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, मानव सेवा आश्रम वीरगञ्जका संयोजक देवेश गुप्ताले चारवटै सहयोगी लायन्स क्लबहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लायन्स क्लबहरूले गरेको सहयोगले आश्रममा बसोबास गरिरहेका वृद्ध, असहाय तथा बेघर व्यक्तिहरूलाई ठूलो राहत पुगेको बताउनुभयो ।
लायन्स क्लब अफ वीरगञ्ज विजयपथकी अध्यक्ष लायन मनिषा कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी उपाध्यक्ष लायन अहिल्या श्रेष्ठ लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लायन्स क्लबहरूको यो संयुक्त मानवसेवा अभियानले समाजमा सहयोग, करुणा र एकताको सन्देश दिएको छ। कार्यक्रमले “We Serve” भन्ने लायन्स क्लबको मूल नारालाई व्यवहारिक रूपमा उजागर गरेको छ ।
