वीरगञ्ज, कात्तिक २४ — लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको आयोजनामा “लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५” आज एक विशेष कार्यक्रमका बीच मिनीलैण्ड सेकेन्डरी स्कुल, वीरगञ्जमा सम्पन्न भएको छ । “एकताको रूपमा एकता” भन्ने मूल नारामा आधारित उक्त प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक चित्रकला मार्फत शान्ति, एकता र विश्वमैत्री भावना झल्काउने सन्देश प्रस्तुत गरेका थिए ।
कार्यक्रमका निर्णायक मण्डलले विद्यार्थीहरूको कलात्मक प्रस्तुति, सन्देश र मौलिकताको आधारमा उत्कृष्ट चित्रहरू छनोट गरेका थिए । सो प्रतियोगितामा मिनील्याण्ड सेकेन्डरी स्कुल, वीरगञ्जको कक्षा ९ का विद्यार्थी प्रतीक कुमार गुप्ता प्रथम स्थान हासिल गर्दै विजेता घोषित भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका उप–गभर्नर लायन रामबिहारी पाण्डेले बालबालिकामा सृजनशील सोच र विश्व शान्तिप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई शान्ति र मानवताप्रतिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्ताले प्रतियोगितामा सक्रिय सहभागिता जनाएका विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहको अध्यक्षतामा भएको कार्यक्रममा मिनीलैण्ड इङलिस सेकेण्डरी स्कुल वीरगञ्जका प्रधानाध्यापक सुरजबाबु पटेल, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी सचिव लायन नितु गुप्ता, सहसचिव लायन ब्युटी जैसवाल, क्लबका अन्य पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहाले गरेका थिए ।