वीरगञ्ज - लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया नम्बर ३ को बैठक आज वीरगञ्जस्थित होटल मकालुमा सम्पन्न भएको छ।
एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा एरिया नम्बर ३ अन्तर्गतका विभिन्न लायन्स पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा हालै वीरगञ्जमा सम्पन्न दोस्रो डिष्ट्रिक्ट क्याबिनेट बैठकको आयव्यय विवरण पेश गरिएको थियो। दोस्रो डिष्ट्रिक्ट क्याबिनेट बैठक तयारी समितिका संयोजक लायन श्याम गुप्ताले पेश गरेको आयव्यय विवरण अपुरो रहेकोले आजको एरिया बैठकबाट अनुमोदन हुन सकेन। बैठकले उक्त आयव्यय विवरणलाई दुरुस्त गरी आगामी बैठकमा पुनः पेश गर्न निर्देशन दिएको छ।
त्यसैगरी, एरिया नम्बर ३ द्वारा लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा आगामी जनवरी महिनाको पहिलो सातादेखि साताब्यापी सेवा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। उक्त जन्मोत्सव तथा सेवा कार्यक्रम समितिको संयोजकमा जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन संजय खेतानज्यूकी आमाको स्वर्गारोहणप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित समवेदना प्रकट गरिएको थियो।
बैठकले चालु कार्यकालमा सेवा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। यस अन्तर्गत आँखा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वातावरण संरक्षण तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरू एरिया स्तरमा संयुक्त रूपमा सञ्चालन गरिने निर्णय गरिएको छ।
त्यसैगरी, एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ताको संयोजकत्वमा एरिया नम्बर ३ अन्तर्गत रहेका क्लबहरूलाई समेटी आगामी जनवरी महिनामा फेलोसिप बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका उप-गभर्नर लायन रामबिहारी पाण्डे, पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफद्वय लायन बासु तिमिल्सिना र लायन रिकेश साह, डिष्ट्रिक्ट एक्जिक्युटिभ को-चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट चिफद्वय लायन आश्मा सिंह यादव र लायन श्याम गुप्ता, डिष्ट्रिक्ट डेपुटी चिफद्वय लायन बिनय बंशल र लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सल्मा खातुन, एरिया ट्रेजरर लायन कपिलदेव तिवारी, रिजन चेयरपर्सन लायन सन्दीप गुप्ता, जोन चेयरपर्सनहरू लायन सुनिल गुप्ता, लायन रवि सर्राफ, लायन दिगम्बर प्रसाद गुप्ता, डिष्ट्रिक्ट कमिटी चेयरपर्सन लायन पियुष दारुका, लायन पिंकी साह लगायतको उपस्थिति रहेको थियो।
बैठकमा सहभागी लायन्स पदाधिकारीहरूले लायन्स क्लबको सेवा भावना, आपसी सहकार्य र एकतालाई अझ मजबुत बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२