वीरगंज - वीरगंजको म्याचिङ सेन्टर नचिन्ने कमै छन्। महिला, पुरुष तथा बालबालिकाका लागि ब्रान्डेड कपडाको बिक्री-वितरण गर्दै आएको म्याचिङ सेन्टरका सञ्चालक उत्तम अग्रवाल कपडा व्यवसायमा चर्चित नाम मानिन्छन्।
स्थानीय स्तरमा उठेको चर्चाअनुसार उत्तम अग्रवाल भारतीय नागरिक हुन् भन्नेमा धेरैको सहमति देखिन्छ। उनलाई चिन्ने निकट व्यक्तिहरूका अनुसार उनले नेपाली र भारतीय दुवै नागरिकता प्रयोग गर्दै आएको दाबी गरिँदै आएको छ। भारतीय नागरिक भएर पनि वीरगंजमा सफल व्यवसायीका रूपमा स्थापित उत्तम अग्रवाल हाल धनाढ्य व्यक्तिहरूको सूचीमा गनिन्छन्।
यसैबीच, “उत्तम अग्रवाललाई भारतीय भन्ने कि नेपाली ?” भन्ने प्रश्न अहिले वीरगंजमा चर्चाको विषय बनेको छ। उनीमाथि झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप समेत लागेको छ। “बुवा भारतीय हुँदा छोरा नेपाली कसरी भए ?” भन्ने प्रश्न पनि स्थानीयस्तरमा उठाइएको छ।
बताइएअनुसार उत्तम अग्रवाल भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सुरसण्ड क्षेत्रबाट वीरगंज प्रवेश गरेका व्यक्ति हुन्। प्रारम्भिक समयमा उनले रमेश गाडियाको पसलमा काम गरेको भन्ने जानकारी पनि स्थानीय मारवाडी समुदायका केही व्यक्तिहरूले बताएका छन्। तीमध्ये एक व्यक्तिले थोरै समयमै यति धेरै अकुत धन कसरी आर्जन गरे भन्ने विषय नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए।
म्याचिङ सेन्टरका सञ्चालक उत्तम अग्रवालका छोरा गौरव अग्रवाल ले पनि नेपाल र भारत दुवै देशको नागरिकता प्रयोग गर्दै आएको दाबी गरिएको छ। गौरवले पनि झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप छ।
आरोपअनुसार बुवा-छोराले नेपाली नागरिकताको प्रयोग गरी वीरगंजका विभिन्न बैंकहरूबाट करोडौँ रुपैयाँभन्दा बढी ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। यसरी ठूलो मात्रामा ऋण लिएको कारण सम्बन्धित बैंकहरू जोखिममा पर्ने अवस्था सिर्जना हुन सक्ने व्यवसायीहरूको भनाइ छ। यसअघि पनि कर्जा नतिरी व्यवसायीहरू नेपाल छाडेर फरार भएका घटनाहरू सार्वजनिक भइसकेका छन्।
यस विषयमा उत्तम अग्रवालसँग बुझ्दा उनले आफू भारतीय नागरिक भएको स्वीकार गर्दै, छोराको नाम भारतीय मतदाता सूचीबाट हटाउन निवेदन दिइ सबै प्रक्रिया पुरा गरेको भए पनि हालसम्म किन हटेन भन्ने विषयमा आफूले बुझ्ने बताएका छन्।
झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका गौरव अग्रवाल हाल वीरगंजको बाइपासमा रहेको विद्युतिय गाडीको चर्चित ब्राण्ड बीवाईडी वीरगंज शोरुमका साझेदार हुन् ।