वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रिय पहलमा सरसफाइ कर्मचारी र ठेकेदारबीच देखिएको विवाद समाधान भएको छ।
कार्यवाहक नगर प्रमुख आलमको समन्वयमा भएको छलफलपछि दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिसँगै आन्दोलनमा रहेका सरसफाइ कर्मचारी पुनः आफ्नो नियमित काममा फर्किएका छन्।
यससँगै वीरगञ्जको सरसफाइ सेवा पुनः सुचारु भएको छ। महानगरले नगरवासीलाई सहज र प्रभावकारी सरसफाइ सेवा उपलब्ध गराउन आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
कार्यवाहक नगर प्रमुख आलमले सबै पक्षको सहकार्यबाट समस्या समाधान भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता विषयलाई संवाद र सहमतिमार्फत समाधान गरिने विश्वास व्यक्त गरेका छन्। नगरवासीले समेत सरसफाइ सेवा पुनः सुचारु भएकोमा राहत महसुस गरेका छन्।