वीरगञ्ज, १८ असार। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय पहल र नेतृत्वका कारण विगत ६ महिनादेखि रोकिएको विपद् राहत रकम अन्ततः पीडित परिवारहरूलाई वितरण हुने भएको छ। महानगरपालिकाको विभिन्न वडाका आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।
कार्यवाहक प्रमुख आलमले विपद् व्यवस्थापन शाखामा लामो समयदेखि थन्किएका निवेदनहरूप्रति विशेष चासो देखाउँदै तत्काल आवश्यक छानबिन गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण भौतिक क्षति व्यहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको हो।
पीडितहरूको निवेदन र क्षतिको अवस्थाका आधारमा प्रतिपरिवार ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ। यस निर्णयसँगै पुनर्निर्माणका लागि लामो समयदेखि राहतको प्रतीक्षामा रहेका प्रभावित परिवारहरूमा राहत र आशा थपिएको छ।
विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय, सक्रियता र निरन्तरको ताकेताका कारण लामो समयदेखि रोकिएको प्रशासनिक प्रक्रिया छिटो सम्पन्न हुन सकेको हो। उहाँका अनुसार अबको केही दिनभित्रै राहत रकम सम्बन्धित पीडितहरूको हातमा पुग्नेछ।
संकटका बेला नागरिकको साथमा महानगर रहेको सन्देश दिँदै कार्यवाहक प्रमुख आलमले विपद्का घटनाबाट प्रभावित नागरिकलाई आगामी दिनमा पनि छिटो, प्रभावकारी र पारदर्शी ढंगले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।