वीरगञ्ज - वीरगञ्ज महानगरलाई सफा, सुन्दर, हराभरा एवं व्यवस्थित बनाउन वीरगञ्ज महानगरपालिकाले सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई 'एक्सन टिम' को नेतृत्व एवं जिम्मेवारी सुम्पेको छ।
सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै शहरका विभिन्न स्थानमा सरसफाइ र सडकपेटी (फुटपाथ) अतिक्रमणमुक्त गराउन विशेष अभियान सञ्चालन गरिने वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।
एक्सन टिमको जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले वीरगञ्जमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले गर्दै आएका कार्यहरूमा कुनै पनि कमी कमजोरी हुन नदिन कडा निर्देशन दिनुभएको छ। उहाँले यो अभियान मुख्य सडकमा मात्र सीमित नभएर महानगरका ३२ वटै वडासम्म प्रभावकारी रूपमा अगाडि बढ्ने बताउनुभयो।
महानगरको गरिमा उच्च राख्न र आम सर्वसाधारणको स्वास्थ्य तथा दैनिक जीवनमा आइपर्ने समस्याहरूलाई मध्यनजर गर्दै सोही अनुकूल नागरिक मैत्री भएर परिणाममुखी काम गर्न समेत कार्यवाहक प्रमुख आलमले निर्देशन दिनुभएको छ।