प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएपछि तीन प्रतिपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमाले का सांसदहरूले भने बैठक कक्षमै आफ्ना स्थानबाट उभिएर विरोध जारी राखेका छन्।
प्रतिपक्षी सांसदहरूको नाराबाजी र विरोधबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले नीति तथा कार्यक्रमबारे जवाफ दिन सुरु गरेका छन्।
यसअघि विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। सभामुख डिपी अर्याल ले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएको जानकारी गराउँदै सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।
तर, प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म संसद चल्न नदिने अडान कायम राखेका छन्।
प्रतिनिधिसभाको संशोधित कार्यसूचीमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने उल्लेख गरिएको थियो। यसअघि भने कार्यसूचीमा प्रधानमन्त्री स्वयंले जवाफ दिने उल्लेख थियो।
प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री शाह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहे पनि संसद बैठकमा भने सहभागी भएका छैनन्। यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि उनी बीचमै संसद छाडेर बाहिरिएका थिए। साथै, विपक्षी दलका नेताहरूले सम्बोधन गर्दा पनि उनी अनुपस्थित रहेको विपक्षीहरूको आरोप छ।