काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा तथा त्यसपछि सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन र छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल तथा सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल का अनुसार समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकारलाई राय–सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
व्यापारी दीपक भट्ट सँग व्यापारिक सेयर साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
गुरुङ केवल २६ दिन गृह मन्त्रालयको नेतृत्वमा रहेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स को सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि दबाब बढेको थियो।
सेयर खरिदका लागि प्रयोग भएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर सेयर किनेको दाबी गर्दै आएका छन्। प्रारम्भिक विवरणअनुसार उनले भट्टको कम्पनीमा करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको भेटिएको छ।